पार्टी छोडेपछि भट्टराई जिल्लातीर भौतारीदै

एमाओवादी संस्थापन पक्ष नजाने 
दाङ देउखुरीको लमहीमा मंगलबार हुने आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लमही आउँदै छन्। भट्टराईले मंगलबार दिउँसो लमहीको सार्वजनिक बगैचामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने एमाओवादी दाङका सचिवालय सदस्य धिरज शेर्पाइलीले बताए। 

एकीकृत नेकपा माओवादी र सांसद्बाट समेत राजिनामा दिएका भट्टराई पछिल्लो समय तराई मधेसमा जारी आन्दोलनलाई समर्थन जनाउने क्रममा दाङ आउन लागेका हुन्। 

बाबुराम आउने खबरबारे संस्थापनपक्षले भने अनभिज्ञता जनाएको छ। एमाओवादी जिल्ला कमिटी कोषाध्यक्ष लुमबहादुर कार्कीले आफूले मिडियामा मात्रै बाबुराम आउने सुनेको र आफूहरुलाई आधिकारिक केही जानकरी नदिइएको बताए। उनले लमहीको कार्यक्रममा संस्थापन पक्ष सहभागी नहुनेसमेत जानकारी दिए। 

बाबुराम दाङ आउनु भन्दा ठिक एक दिन अघि दाङमा थारुहरुले राजमार्गकेन्द्रीत आमहड्ताल सोमबार बेलुकीदेखि फिर्ता लिएका थिए। झन्डै दुई महिनादेखि उनीहरुले आमहड्ताल गर्दैआएका थिए। आन्दोलन फिर्ताबारे फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘खेती गर्ने थारु तर धान भित्राउने बाबुराम हुने सम्भावना देखिएकाले आन्दोलन फिर्ता गरिएको हो।’ 

उनले पूर्वप्रधानमन्त्री भएकाले कार्यक्रममा सहभागिता जनाए पनि थरुहट÷थारुवानको व्यानर भट्टराईको कार्यक्रमस्थलमा प्रयोग नहुने स्पष्ट पारे। चौधरीले थपे, ‘यति लामो आन्दोलन हुँदा बाबुराम निर्णायक तहमै रहँदा थारुहरुका हकअधिकार सम्बोधन गर्न र आन्दोलनमा जाने कष्ट गरेनन्। आज आएर थारुहरुको आन्दोलनलाई उनले किन सम्बोधन गर्नु प¥यो? हामी आफै सक्षम छौं।’ 

उनले आफूले जिल्ला नेतृत्वसँग के बोल्ने भनेर निर्देशन दिइसकेको जनाए। तपाईंका कार्यकर्तासमेत बाबुरामको स्वागतका लागि विज्ञप्ति जारी गरिरहेका छन् नि भन्ने जिज्ञासामा फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य चौधरीले भने, ‘ती हाम्रा कार्यकर्ता होइनन्। माओवादी कार्यकर्ता हुन्।’  

यसैबीच लमही आउन लागेका भट्टराईको संयुक्तरुपमा स्वागतको तयारी गरिएको एमाओवादी नेता शेर्पाइलीले जानकारी दिए। भट्टराईको स्वागतका लागि लमहीमा झाँकी र ¥यालीको आयोजना गर्नुका साथै बजार परिक्रमा गरिने शेर्पाइलीले बताए।

उनले एमाओवादी दाङसहित संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोककुमार यादव, सद्भावना पार्टीका मुकेश चौधरी, फोरम लोकतान्त्रिकका बिन्तिराम यादव, समाजसेवी प्रकाश चौधरी, मुक्त कमैया भूमिअधिकार संघर्ष समिति जिल्ला अध्यक्ष माघीराम चौधरी, मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरी, मुक्त कमैया भूमिअधिकार संघर्ष समिति महासचिव रामवचन चौधरीले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै भट्टराईको स्वागत गरिने जनाएका छन्। 

उनीहरुको विज्ञप्तिमा आगामी दिनमा सहकार्य गरी अघि बढ्नेसमेत उल्लेख छ। मंगलबार बिहान ११ बजे लमही आइपुग्ने भट्टराई कार्यक्रमलाई सम्बोधनपछि मंगलबार नै बाँकेस्थित कोहलपुरमा आयोजना गरिएको अर्को सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

एमाओवादी दाङ सचिवालय सदस्य शेर्पाइलीका अनुसार भट्टराई बुधबार धनगढीमा आयोजना हुने अर्को त्यस्तै आमसभालाई सम्बोधन गर्न त्यहाँ जानेछन्। तर उनको कैलाली जाने कार्यक्रम भने स्थानीय प्रशासनले रोकेको थियो। 

जनकपुर, गोर्खालगायतका जिल्लामा पुगेर फरक÷फरक अभिव्यक्ति दिँदैआएका भट्टराईले दाङमा के बोल्छन् भन्ने कौतुहलता छ ।

Share this:

JOIN CONVERSATION

    Blogger Comment

0 comments:

Post a Comment